नियम ५३क
स्थायी आवासीय अनुमति लिन नहुने
(१) प्रहरी कर्मचारीले विदेशमा स्थायी रुपमा बसोवास गर्न पाउने गरी कुनै विदेशी मुलुकले उपलब्ध गराएको डाइभरसिटि इमिग्रेन्ट भिसा (डि.भी.), परमानेन्ट रेजिडेन्ट भिसा (पि.आर.), ग्रीन कार्ड वा त्यस्तै प्रकृतिको जुनसुकै नामको स्थायी आवासीय अनुमति लिन वा त्यस्तो अनुमतिको लागि आवेदन दिनु हुदैन ।
(२) यो नियम प्रारम्भ हुनु अघि कुनै विदेशी मुलुकको स्थायी आवासीय अनुमति लिएको वा त्यस्तो अनुमतिको लागि आवेदन दिएको प्रहरी कर्मचारीले यो नियम प्रारम्भ भएको मितिले तीस दिनभित्र देहाय बमोजिमको विवरण सहितको जानकारी केन्द्रमा गराउनु पर्नेछ ः-
(क) प्रहरी कर्मचारीको नाम,थर, सेवा, समूह र हालको पद,
(ख) स्थायी आवासीय अनुमति लिएको वा त्यस्तो अनुमतिको लागि आवेदन दिएको मिति र मुलुकको नाम,
(ग) आफूले प्राप्त गरेको स्थायी आवासीय अनुमति परित्याग गर्न वा त्यस्तो अनुमतिको लागि दिएको आवेदन रद्द गराउन इच्छुक भए नभएको ।
(३) उपनियम (२) बमोजिमको जानकारी गराउने प्रहरी कर्मचारीले यो नियम प्रारम्भ भएको मितिले साठी दिनभित्र स्थायी आवासीय अनुमति लिएको भए त्यस्तो अनुमति परित्याग गरी वा अनुमतिको लागि आवेदन दिएको भए त्यस्तो आवेदन रद्द गराई सोको जानकारी केन्द्रमा दिनु पर्नेछ ।
(४) यो नियम प्रारम्भ हुनु अघि कुनै प्रहरी कर्मचारीको सगोलको पति वा पत्नीले स्थायी आवासीय अनुमति लिएको वा त्यस्तो अनुमतिको लागि आवेदन दिएको भएमा यो नियम प्रारम्भ भएको मितिले तीस दिनभित्र सम्बन्धित प्रहरी कर्मचारीले सोको जानकारी केन्द्रमा दिनु पर्नेछ ।
(५) यो नियम प्रारम्भ भएपछि कुनै प्रहरी कर्मचारीको सगोलको पति वा पत्नीले स्थायी आवासीय अनुमतिको लागि आवेदन दिएमा वा स्थायी आवासीय अनुमति लिएमा त्यस्तो आवेदन दिएको वा अनुमति लिएको मितिले तीस दिनभित्र सम्बन्धित प्रहरी कर्मचारीले सोको जानकारी केन्द्रमा दिनु पर्नेछ ।